१६ चैत्र २०८०, शुक्रबार

मास्टर साहेबको ब्यापारको विरुद्ध

‘व्यक्तित्व र कृतित्व’ शहीद क. रामवृक्ष यादव स्मृति दिवस सन्दर्भमा

0

कमरेड रामवृक्ष यादवलाई स्थानियहरुले आदरपूर्वक ‘मास्टर साहेब’ भन्थे । उहाँको वि.सं २००३ सालमा धनुषा जिल्ला बारमझिया गाविस (हाल गणेशमान नपा) मा भएको थियो । आजकै दिन प्रहरी र काङ्ग्रेसको गुन्डादलले २०४२ सालमा मित्रमणी आचार्यको चितवन, पर्शाढापमा हत्या गरेझै हत्या गरेको थियो । मास्टर साहेब निम्नमध्यम किसान परिवारमा हुर्कनु भएको थियो ।

सामान्ति उत्पीडन, त्यसका विरुद्ध मुक्तिको चाहना, पारिवारिक रुपमै विद्रोही चेतना र लामो समयदेखि धनुषामा चलिरहेको किसान विद्रोहहरुले उहाँमा क्रान्तिकारी चेतना प्रवाह गर्दै आएको देखिन्छ । जस्कोे कारण किशोर अवस्थामा नै उहाँले गाउँमा गठीत कीर्तनमण्डलीमा बसेर सामन्ती थिचोमिचो विरोधी भजनहरु गाउनुहुन्थ्यो । अध्ययनसकेपछि बरमझिया प्राथमिक विद्मालयमा प्रधानाध्यापक भएर जनसेवा गर्नुभयो ।

२०२९सालमा मास्टर साहेवको ऋषि देबकोटा ‘आजाद’ सँग भेट भयो । त्यो भेट नै उहाँको जीवनको ऐतिहासिक घुम्ती थियो । त्यसपछि उहाँहरुवीचको यात्रा जीवनपर्यन्त जारी रहयो । २०३० सालमा बोनी आन्दोलन (कृषि मजदुरको ज्याला बढाउने सङ्घर्ष ) भएपछि व्यवस्था विरोधी भन्दै उहाँलाई गिरफ्तार गरेर जलेश्वर जेलमा ६ महिला कैद गरियो । जेलबाट रिहा भएलगतै आजादबाट उहाँले ने.क.पा. (चौथो महाधिबेशन) को पार्टी सदस्यता लिनु भयो ।

त्यसलगतै कमला नदी किनारमा रहेको १२ बिघा जग्गा सुकुमवासीलाई वितरण गर्ने सङ्घर्षको नेतृत्व गर्नु भयो । यस्ता अनेकौं किसान सङ्घर्षबाट अत्तालिएको पञ्चायती सरकारले २०३४ सालमा उहाँलाई फेरि गिरफ्तार ग¥यो । मन्डलेहरुले आँखाको तारो बनाइरहेको कारण २०३५ सालमा उहाँ भूमिगत भएर पूर्णकालीन कार्यकर्ता बन्नुभयो ।

२०३५ साल पुस १ गते पुनः गिरफ्तार हुनु भएका मास्टर साहेव २०३७ बैसाख ५ गते रिहा गरेको थियो । पार्टीले जनमत सङ्ग्रह धोका भन्दै बहिष्कार गरेको थियो । मतदानको अघिल्लो दिन उहाँलाई गिरफ्तार गरेर वेपत्ता पार्यो । जनमत सङग्रहमा धाँधली गरेर पञ्चायतको जित घोषणा गरियो । त्यसपछि मण्डले आतङ्क झन चरम बनेर गयो । वन तस्कर, जमिनदार, मण्डले मन्त्री हेमबहादुर मल्लको ज्यादती चरम भएर गएको थियो । मल्लका लठैतहरुले मास्टर साहेबको घर लुटपाट गरे । परिवारका सदस्यलाई कुटपिट गरे ।

मास्टर साहेब त्यसदिन घरमा नभएकोले बच्नुभयो । २०४२ सालमा बरमझियामा एकजना विषसेवन गरेर मरेका थिए । त्यसको दोष लगाएर बरमझियाका प्रधानपञ्चले उहाँलाई हातगोडा भाँचेर आफ्नै घरमा थुनेर राखे । त्यसबेला मण्डलेहरुले पञ्चायत विरोधीलाई प्रहरी चौकिमा नै गएर पिट्ने, कैयौं दिन आफ्नै घरमा थुन्ने, यातना दिने आमरुपमा गरिन्थ्यो । अवस्था नाजुक बन्दै गएपछि उहाँलाई उपचारार्थ मण्डलेहरुले जनकपुर लगेको बेला उहाँले दुश्मनको घेरा तोड्न सफल हुनुभयो ।

२०४२ सालमा तत्कालीन नेकपा (मशाल) विभाजित भएपछि उहाँ मशालतिर रहनु भयो । २०४५ सालको किसान आन्दोलनमा पनि उहाँको अग्रणी भुमिका थियो । पञ्चायती व्यवस्थाको विरुद्ध जनआन्दोलन चर्किरहेको बेला २०४६ जेठ ६ गते उहाँलाई पुनः गरिफ्तार गरियो ।

बहुदलीय व्यवस्था पुनरबहाली हुनासाथ काङ्ग्रेस/एमाले सरकारले तराईमा आफ्नो प्रभाव कमजोर होला भन्ने त्रासले गर्दा मास्टर साहेवको झूठा मुद्धा खारेज गर्न मानेनन् । जबकि पुर्तिघाट वैङ्क कारबाहीका राजवन्दीहरु फणिन्द्र आचार्य (भैरहवा जेल), धनीराम महत्तो र तारापति पौडेल (पाल्पा जेल ) बाट रिहा भैसकेका थिए र ब्यापक जनदबावपछि २०४९ सालमा मात्र उहाँलाई रिहा गरियो ।

जेलबाट छुटेलगतै मास्टर साहेवले फेरि किसान आन्दोलनको नेत्रृत्व गर्न थाल्नुभएको थियो । उहाँले पटेखाको साढे दुई सय विघा जग्गा सुकुमवासीलाई वाड्नुभयो । २०४८ सालमा एकटा महाधिवेशन (जसलाई कालान्तरमा पाचौं महाधिवेशन मानियो ) भएपछि जनयुद्धको तयारीले तिब्रता पायो । देशैभरि सिज अभियान, भलगा जस्ता अभियानहरु चलिरहेका थिए । जनपरिचालनको साथसाथै ग्रामिण वर्ग सङ्घर्षले गति लिंदै थियो ।

सरकारी ज्यादतीको विरुद्ध २०५१ भदौ १ गते नेपाल बन्द थियो । त्यसको सफलताको लागि उहाँ जनकपुरधाम जानु भएको थियो । सो कार्यक्रम सकेर भदौ २ गते उहाँ बसबाट घर फर्किर्दै हुनुहुन्थ्यो । मकैबारीमा लुकेर बसेका प्रहरी र काङ्ग्रेसी गुन्डाहरुले उहाँलाई पिट्दै बसबाट ओरालेर हत्या गरे । त्यसबेला उहाँ पार्टी र संयुक्त जनमोर्चा दुबैको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

मास्टर साहेव आवेगमय क्रान्तिकारी चेतनाका बाहक हुनुहुन्थ्यो । उहाँमा परिवर्तनको चाहना र तिब्र हुटहुटी उद्धेलनकै स्थितिमा हुन्थ्यो । चिलीका प्रसिद्ध कवि पाव्लो नेरुदाले ‘उद्धेलनको स्थिति व्यक्तित्वको स्थिति हो’ भन्नु भएको छ । उहाँ लेखक, कवि, गायक बहुमुखी प्रतिभाको धनी हुनुहुन्थ्यो । ‘पेरु में लाल झण्डा फहरारे’ मैथली भाषाको उहाँद्धारा सिर्जित गीत निकै लोकप्रीय थियो । उहाँको कवि , गायन, लेखन ‘व्यक्तित्व र कृतित्व’ को अलग्गै छलफल गर्नुपर्ने आवश्यक्ता छ ।

पचासको दशकमा सिरहा र धनुषामा मास्टर साहेव र क्रान्तिकारी आन्दोलनको प्रभाव तिब्र रुपमा बढ्दैथियो । उहाँको क्रान्तिकारी शैलीले जमिनदार र प्रशासन क्रुद्ध बन्दै गएका थिए । उनीहरुले ‘दमन र लालच’ दुबै अस्त्रले मास्टर साहेवलाई तह लगाउन नसकिने निष्कर्ष निकालेका थिए । दलाल बन्न नचाहनेलाई हत्या गर्ने तराईका जमिनदार र प्रशासनको परम्परा नै हो । कुमार पौडेलको हत्यासम्म त्यही रणनीतिको निरन्तरता देखिन्छ । त्यही कारण उहाँको हत्या भयो ।

तराई मधेसका सांस्कृतिककर्मी तथा राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन, “यस हत्यामा प्रशासन र जमिनदार बर्गका साथै काङ्ग्रेसका केन्द्रीय नेताहरुसमेत सामेल रहेको कुरा माओबादीहरुले आरोप लगाउँदै आएका थिए । ती अभियुक्तहरुले सजाय भोगिरहेकैबाट थाहा हुन्छ, काङ्ग्रेसका स्थानिय कार्यकर्ताहरुको सङ्लग्नता ।

यस हत्याको आरोपको केही छिटा त तत्कालीन एमालेको स्थानिय नेताहरुप्रति पनि माओवादीहरुले लगाएका थिए ।” घटनालगतै जनताले प्रहरी चौकी घेराउ गरे । हजारौ जनता उहाँको अन्तिम श्रद्धान्जली दिन सव–जुलुसमा भाग लिए । विश्व भरिका भाइचाराहरुले श्रद्धाञ्जली अपर्ण गरेबाट उहाँको लोकप्रीयता झल्कनछ ।

मास्टर साहेवले परिवारलाई क्रान्तिकारीकरण गर्नु भएको थियो । उहाँको जीबन–सङिगनी, छोरी र छोरा जनयुद्धमा पुर्णकालीन कार्यकर्ता भए । छोरा शेखर यादव जनयुद्धमा सहिद हुनुभयो । उहाँको जीवन अनुकरणीय थियो । अन्यथा त्यसप्रकारको लोकप्रीयता सम्भव थिएन ।

आज परिस्थिति फरक भएको छ मास्टर साहेवको स्मृति दिवसलाई देश, श्रमजिवि जनता र विश्व सर्वहारा वर्गको लागि प्रेरणाको श्रोत बनाउने गरिन्थ्यो । तर आज दलाल पुँजीवादले मेला (जात्रा–पर्व) को रुपमा रुपाकृत, विद्र्रुपीकरण गर्दै गएको छ । मेला–जात्रा जनसङ्घर्षको मोर्चा होइन । मेलामा सहभागिको उदेश्य र अवस्था पनि एउटै हुँदैनन् । दलाल पुँजीपतिहरु जगेडा सामान बेच्न गौडो कुरेर बसेका हुन्छन् । बबुुरा जनता आस्था र जीवन निर्वाहको कुुटिरो बोकेर आएका हुन्छन् ।

उनीहरु अर्थात दलाल पुँजीवादको पाउमा लम्पसार प्रचन्डहरु मास्टर साहेबप्रतिको सहानुभुति र आदर्शलाई चिनियाँ पुजीपतिवर्गले विल क्लिण्टनकी प्रेमीका लेवेनेस्कीको फोटो र नामको कण्डम बनाएर बेचेझै मास्टर साहेबलाई चुनावी स्वार्थमा विनिमय गर्न चाहन्छन् । कति भयानक अपराध हेरेर बसिरहेको छौं हामी ! यस्तो अपराध हेरेर बाँच्नु भन्दा त जुद्धशमशेरको शालिक अगाडि आत्महत्या गर्नु श्रेष्यफर हुन्छ ।

मास्टर साहेवले २०३९/०४० सालतिर तत्कालीन नेकपा (माले) हाल एमालेरुपी संशोधनवादको विरुद्ध ‘पहिरलन नवका चुँडी साडी झापाली नौजवान’ गीत लेख्नु भएको थियो । झपाली युवाहरुले चुरा, साडि लगाए भन्दै गित गाउने मास्टर साहेवले जीवनपर्यन्त संशोधनवाद भन्नु भएको एमालेमा नै प्रचण्डको विसर्जन भएको छ । वस्तुप्रतिको धारणा परिवर्तन गर्न वस्तुमा, उसको गुणमा परिवर्तन भएको हुनुपर्छ । मदन भन्डारीकृत बहुदलीय जनवाद नामको दलाल पुँजीबादको रुप र गुण यथावत् छ र झन्झन् पतनतिरै छ । एमालेरुपी वस्तु उही छ, उस्तै छ तर त्यसलाई हेर्ने प्रचण्ड दृष्टि परिवर्तन भएको छ । मास्टर साहेवलाई दलाल पुँजीवादले आकर्षक ‘ट्रेड मार्क ’ बनाउँन खोज्दैछ । त्यसकारण मास्टर साहेवलाई गल्लाको कोठीतिर घिसार्ने षड्यन्त्र तथा अपराधकर्मीबाट रक्षा गर्नु नै सहिद रामवृक्ष यादवप्रतिको सच्चा सम्मान हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।