१२ असार २०८२, बिहीबार

नेकपाको माडी उत्पादन शाखामा रोपाइँ र मकै थन्काउने चटारो

0

चितवन । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय उत्पादन विभाग अन्तर्गत माडी शाखामा अहिले रोपाइँ, मकै थन्काउने र चैते धान काट्ने कार्यले तीव्रता पाएको छ । बिहान सबेरैदेखि राति १० बजेसम्म नेता तथा कार्यकर्ताहरू खेतमा पसिना बगाउँदैछन् । उत्पादन श्रमलाई राजनीतिक अभ्यास र आत्मनिर्भरताको अभ्यासको रूपमा लिँदै पार्टीले माडीमा उत्पादन कार्यलाई सघन बनाएको हो ।

यसवर्ष माडी शाखाले बर्खे धानको लागि कुल १६ बिघा क्षेत्रफलमा रोपाइँ गर्ने योजना बनाएको छ । हालसम्म २ बिघामा रोपाइँ सम्पन्न भइसकेको शाखाले जनाएको छ । त्यसैगरी, प्रत्यक्ष पार्टी श्रममा ८ बिघा र जनतासँग सहकार्यमा थप ३५ बिघा क्षेत्रमा मकै उत्पादन गरिएको छ । हाल मकै थन्काउने कार्य अन्तिम चरणमा पुगेको छ ।

कोही मकै भाँच्दैछन्, कोही बोक्दै, नङ्ग्याउँदै वा थ्रेसर चलाउँदै व्यस्त छन् । मकैबाट करिब २०० क्विन्टल उत्पादन हुने अनुमान गरिएको छ ।

त्यसैगरी, चैते धानको कटानीका लागि कम्बाइन्ड हार्भेस्टर प्रयोग गरिने तयारी छ ।
असार १९ गतेदेखि माडीमा बृहत रोपाइँ कार्यक्रम सञ्चालन हुने जनाइएको छ । यसका लागि विभिन्न जनसङ्गठन तथा पार्टीका अग्रपङ्क्तिका नेता तथा कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गर्न गृहकार्य भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले असार १० देखि साउन १० गतेसम्म सबै नेता तथा कार्यकर्तालाई अनिवार्य उत्पादन श्रममा सहभागी हुन निर्देशनसमेत जारी गरेको छ ।

पार्टीको लक्ष्य आत्मनिर्भर नेता, आत्मनिर्भर पार्टी र आत्मनिर्भर देश निर्माण गर्नु रहेको बताउँदै पोलिट ब्युरो सदस्य तथा माडी उत्पादन शाखा इन्चार्ज सन्देश सीले देशव्यापी रूपमा ३०० बिघामा बर्खे धान रोपाइँ गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।