
बुटवल । नेकपा गुल्मीले विभिन्न सञ्चार माध्यममा विप्लव नेकपाको गुल्मी काठमाडौं सम्पर्क मञ्च माकेमा समाहित भन्ने समाचारको खण्डन गरेको छ ।
नेकपा गुल्मीले आइतबार एक वक्तव्य जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो । नेकपाले वक्तव्यमा आफ्नो पार्टीको गुल्मी जिल्ला सम्बद्ध कमिटी काठमाडौँमा नरहेको र माकेमा प्रवेश गरेका नेताकार्यकर्ता आफ्नो नभएको बताएको छ ।
वक्तव्यमा भनेको छ, “विभिन्न सञ्चारमाध्यममा कथित ‘विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माकेमा समाहित’ भनेर आएका भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौंमा हाम्रो पार्टीको गुल्मी जिल्ला सम्बद्ध कुनैपनि मञ्च नरहेको र सञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्तिहरू अहिलेसम्म पार्टीको कुनै कमिटी/निकाय वा साधारण सदस्य समेत नरहेको प्रष्ट पार्दछौं ।”
नेकपाले वक्तव्यमा माओवादी केन्द्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनताबीच बदनाम हुँदै गएकोले त्यसको ढाकछोप गर्न सुनियोजित ढंगले गलत प्रचार गरेको बताएको छ ।
वक्तव्यमा नेकपाले उक्त घटनाको निन्दा गर्दै भनेको छ, “वैचारिक रूपले पतन भएर माओवादी केन्द्र (माके) राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय स्तरमा समेत बदनाम भएपछि र नेकपाप्रति जनताको आशा, विश्वास र लोकप्रियता बढ्दै गएको देखेर त्यसलाई ढाकछोप गरि जनतामा भ्रम पैदा गर्न सुनियोजित ढंगले अनर्गल र झुट प्रचार गरिएकोप्रति पार्टी घोर निन्दा गर्दछ ।”
वक्तव्यमा नेकपाले यस्ता अराजनीतिक विचौलियाहरूले फैलाएको हल्ला र उक्त समाचारबाट पार्टीपंक्ति र सम्पूर्ण गुल्मेली जनसमुदाय कुनै भ्रममा नपर्न अपिल गरेको छ ।
शनिवार माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको काठामाडौँमा आयोजित कार्यक्रममा नेकपाका नेता कार्यकर्ता प्रवेश गरेको समाचार प्रकाशित भएको थियो ।