
शीतल सी
नेपालको कम्युनिस्ट आन्दोलन निरन्तर विभाजन र पुनर्मिलनको चक्रमा रहनुको कारण राजनीतिक धारणाहरु बीचको मूलभुत भिन्नता क्रान्तिको पद्धति, नेतृत्व शैली र वैचारिक प्राथमिकतामा केन्द्रीत छ ।
राजनीतिक विचारधारा (political ideology) भन्नाले एउटा निश्चित राजनैतिक, समाजिक, आर्थिक, सांस्कृतिक दृष्टिकोण वा सोचाइ हो । जसको आधारमा पार्टी वा नेतृत्वले:पार्टी, राज्य, सरकार, अधिकार, स्वतन्त्रता, समानता, न्याय आदि विषयहरुमा आफ्नो धारणा बनाउँछन् । सत्ताको प्रयोग, संसाधनको वितरण, नागरिकका हक र कर्तव्य तथा सरकारको भूमिका जस्ता विषय राजनीतिक विचारले निर्धारण गर्छ । राजनैतिक विचारधारा भनेको राजनीति गर्ने तरिका र उद्देश्यलाई मार्गदर्शन गर्ने सोचको चौखट हो । यसले दल, नेताहरु र जनताको कार्यदिशा निर्धारण गर्छ ।
*विश्व राजनीतिक सत्ता संचालन र शासनका स्वरुपहरु: जनगणतन्त्र, जनवाद, लोकतन्त्र, राजतन्त्र फासीवाद, निरंकुश आदि जुन रूपमा देखिएपनि मुख्य दुई विचारधारामा आधारित छन् । ती हुन्:
(क) समाजवादी/साम्यवादी विचारधारा (ख) पुँजीवादी विचारधारा
यी दुई विचारधारा केही दूरीको फरक नभई विपरित ध्रुवमा खडा छन् ।
(क) समाजवादी/साम्यवादी: त्यस्तो विचारधारा कम्युनिस्ट पार्टी, त्यसमा सोच राख्ने दलहरू र बौद्धिकहरु तथा श्रमिकहरुको वैज्ञानिक विचार हो । मार्क्सवाद- लेनिनवाद-माओवादको पथप्रदशक सिद्धान्तमा आधारित कम्युनिस्टहरुको “लक्ष्य” वर्गबिहिन र शोषणमुक्त मानव समाज निर्माण गर्नु हो । जहाँ उत्पादनका साधनहरु (जस्तै: जमिन, कल-कारखाना, बैंक) आदि सामुहिक स्वामित्वमा हुनेछ । बजार अर्थतन्त्र होइन सरकारको योजनामा आधारित (एकिकृत स्वामित्वको) विकसित अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, बसोबास, रोजगार, सबैमा राज्यको जिम्मेवारी तथा सामुहिक र आधुनिक खेती प्रणाली, औद्योगिकरणको विकास जस्ता जनपक्षीय अर्थनीतिद्वारा सुन्दर र सम्पन्न समाज तथा देशलाई विकसित मुलुकमा बदल्नु कम्युनिस्टको कार्यभार हो । उक्त कार्यभार पूरा गर्न आफ्नो सिद्धान्त, विचारमा दृढ रहि देश र जनताको पक्षका कैयौं कार्यहरु व्यवहारद्वारा पुष्टि गर्नु उनीहरुको कर्तव्य हो । तर नेपाली कम्युनिस्ट आन्दोलनका केहि नेता तथा पार्टीहरु नाममा कम्युनिस्ट भएपनि निर्लज्ज ढङ्गले पुँजीवादी मान्यतामा रहि पुजिपतिको सेवा गरिरहेका छन् । यसैको आधारमा केहि मानिसहरुले विभाजनको कारण कम्युनिस्ट आन्दोलन सिद्दियो भन्ने अर्थ लगाउने गरेका छन्, त्यो कुरा सत्य होइन । विभाजनले केही समयको बर्बादी र केही बाधा पुर्याएको छ । ती मानिसहरु यो पनि बुझ्न जरुरी छ कि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र पार्टी पङ्ति उत्पीडित तथा मध्यमवर्गका जनताको साथमा नयाँ विचार, नयाँ कार्यदिशा लिएर क्रान्तिको गतिमा अगाडि बढिरहेको छ । साथै आफ्नो कार्यभार पूरा गर्न प्रतिबद्ध छ ।
(ख) पुजीवादी विचारधारा: यो विचार दक्षिणपन्थी, हस्तक्षेपकारी, साम्राज्यवादी तथा बहुसंख्यक जनता विरोधीहरुको विचार हो । उनीहरु विश्वका श्रमिकशक्ति र नेपाली जनताको प्रगतिका बाधकका रूपमा आइरहेका छन् ।
*पुँजीवादी विचार अनुसार राष्ट्रको सम्पत्ति: उत्पादनका साधन (जस्तै : जमिन, कल-कारखाना, बैंक आदि) तथा उत्पादनका औजार निजी वा व्यक्तिको स्वामित्वमा हुन्छ, निजी सम्पत्तिमा प्राथमिकता, लगानी अनुसार कमाइ, श्रमको शोषण, प्रतिस्पर्धामार्फत असमान आम्दानी तथा खुल्ला बजार तथा एकाधिकरवादी अर्थतन्त्र जस्तो गलत अर्थनीति पुँजीवादी शासकहरुको अर्थतन्त्र हो । जसले सिमित पुजिपती र साम्राज्यवादी मुलुकहरुको सेवा र बहुसंख्यक श्रमिकको श्रम र पुजि जबर्जस्त खोस्ने तथा उनीहरुलाई रातारात सडकमा पुर्याउने काम गरिरहेको छ । त्यसका लागि आफ्नो भरपुर शक्ति र सत्ताको प्रयोग गर्छ, नागरिकलाई निरीह साबित गर्छ । यदि जनताले विरोध जनाए भने उनीहरुलाई झुट्टामुद्दा, घेराबन्दी, जेल-नेल, हत्या, हिंसासहित दमन गर्दै आफूलाई जंगली हिंश्रक शक्तिको रूपमा गिराउन पुग्दछ । उक्त गतिविधि पुँजीवादी विचारद्वारा निर्देशित कार्य हुन् ।
* कम्युनिस्ट आन्दोलनमा वैचारिक समस्या: नेपाली कम्युनिस्ट आन्दोलनको विभाजन हुनुमा पहिलो समस्या विचारको समस्या हो । संसदवादी कम्युनिस्ट पार्टी तथा त्यसको नेतृत्व लामो समयसम्म र पटक-पटक सत्ता र सरकारको नेतृत्व गर्न पुगे । उनीहरु आफ्नो सिद्धान्त, विचारको आधारमा अघि बढ्नुको सट्टा विचलित हुनु, आफ्नो कार्यभार समाल्नुको सट्टा पुजिपतिहरुसंग हारगुहार गर्दै उनीहरुमै समर्पित हुनु, लगायतका फरक वर्गचरित्र र व्यवहारमा देखिएको भिन्नता नै आन्दोलन विभाजनको मुख्य कारण हो । जसमा वैचारिक दिशाहिनता, सत्तामुखी सोच, सिद्धान्त र व्यवहार बीचको खाडल, आत्मालोचनाको अभाव र गुटगत स्वार्थले वैचारिक समस्या गहिरो बनाएको छ । यी समस्या पार्टी संरचना, गलत नेतृत्व, सिद्धान्त तथा व्यवहारसंग सम्बन्धित छन् । केहि कम्युनिस्ट पार्टीहरुले आफूलाई मालेमावादी र केहिले मालेवादी भन्दै आएका छन्, तर ती विचारहरुलाई व्यवहार र कार्यन्वयनमा परिस्थितिय द्वेष देखाउदै संशोधन या तोडमोड गर्छन् । द्वन्द्वात्मक भौतिकवाद वा वर्गसंघर्ष जस्ता सिद्धान्तहरु प्रयोगमा नभई भाषणका लागि मात्र सिमित गर्दछन्, एकिकृत दृष्टिकोण अभावका कारण सत्ताधारी एउटै कम्युनिस्ट पार्टीभित्र गुटको आधारमा पद र अवसरको लागि भागबन्डा हुन्छ । सत्तामुखी सोच र सरकारमा पुग्ने चाहनाले गठबन्धन र सम्झौतामा जाँदा वैचारिक मूल्यहरु त्यागिन्छ, कम्युनिस्ट पार्टी भनेको जनताका प्रतिनिधि हुन् तर उनीहरुको व्यवहार जनताको दु:ख श्रमिकवर्ग वा किसानको जीवनशैली भन्दा टाढा छ, पार्टीमा सुविधा सम्पन्न नेताहरुको प्रभुत्व छ, साम्राज्यवाद र राष्ट्रवादबारे स्पष्ट र सु-संगत वैचारिक नीति छैन, भाषणमा राष्ट्रवादी देखिन्छन् तर व्यवहारमा परनिर्भरतामा रमाउँछन् र राष्ट्रघात गर्छन् । तिनीहरूको त्यस्तो दयनीय अवस्थाले सिङ्गो कम्युनिस्ट आन्दाेलनमा बाधा बाधा पुगेको छ र बदनामकाे दिशामा धकेलिएको छ ।
* पद्धतिमा समस्या: “आदिम साम्यवाद बाहेक अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्गसंघर्षको इतिहास हो ।” – कार्लमार्क्स
कम्युनिस्ट आन्दोलन विभाजन हुनुमा क्रान्तिको पद्धतिमा गहिरो समस्या देखिएको छ । यी समस्याले क्रान्तिको दिशा, गति र सफलतामाथि गम्भीर असर पारेको छ । क्रान्तिको पद्धतिमा सैद्धान्तिक अस्पष्टता र अनिर्णयको चक्रमा रहेका संसदीय कम्युनिस्टहरुले सिद्धान्त र भाषणमा वर्गसंघर्ष, बल प्रयोगको कुरा गर्ने तर व्यवहार र कार्यान्वयनमा (शान्तिपूर्ण संक्रमण र चुनावी प्रतिस्पर्धा) लाई मूल पद्धति मान्ने गलत विचार लिनु मुख्य समस्या हो । क्रान्ति कुनै सनसनीपूर्ण संघर्ष वा घटना भन्दा पनि निरन्तर प्रक्रिया भन्ने बुझाइको अभाव, सत्ता वा सरकारमा पुगेपछि जनतालाई बिर्सेर क्रान्ति सम्पन्न भयो भन्ने सोच राख्नु, शासन प्रणाली फेरेको देखाउँदै पुँजीवादी सत्ताको चरित्र स्वीकार गर्नु, जस्ता प्रवृत्ति क्रान्तिका पद्धतिमा आएका गम्भीर समस्या हुन् । परिणामस्वरूप केहि कम्युनिस्ट नामका पार्टी र नेताहरुबाट क्रान्तिलाई सामाजिक रुपान्तरणको साधन होइन, सत्तामा पुग्ने भर्र्याङ्को रूपमा प्रयोग गर्दै सत्ता वा सरकारमा पुगेपछि पुँजीवादी शासक वर्गको जनविरोधी व्यवहार पुनरावृत्ति हुँदै आएको छ । त्यस्तो पद्धति होइन, समाजवाद अनुकुल पद्धतिमा विकास गर्नु पर्दछ ।
* नेतृत्वमा समस्या: नेपाली कम्युनिस्ट आन्दोलन विभाजन हुनुमा नेतृत्वको समस्या उत्तिकै छ । आन्दोलनमा केहि सफलता हासिल गरेको भएपनि संसदीय कम्युनिस्ट नेतृत्वमा देखिएको विचारहिनता, गुटबन्दी, सत्ता लाेलुप्ता र नैतिक विचलनले त्यसलाई गम्भीर समस्यामा पारेको छ । नेतृत्वमा प्रायःविचार भन्दा व्यक्तिगत लाभ वा गुटगत हितलाई प्राथमिकता दिने प्रवृत्ति, व्यक्तिवादी नेतृत्व हावी, पार्टीभित्र आन्तरिक जनवाद कमजोर र व्यक्तिवादी प्रवृत्ति बलियो, नेताहरुमा आलोचना स्वीकृत गर्ने संस्कारको कमी, सत्ता केन्द्रित मानसिकता, क्रान्तिका नाममा जनताको हितभन्दा सत्ता प्राप्ति र निरन्तरतामै मुख्य ध्येय र आन्दोलनमा सहभागी भावना भन्दा सत्ता, सुविधा, देखादेख पद र अनदेखा पैसा प्राप्त गर्ने जस्ता घातक प्रवृत्तिहरु मौलाएका छन् । आन्दोलनको आरम्भमा नेतृत्व जनताको नजिक हुने तर सत्तामा पुगेपछि जनतासंगको दूरी बढाउँदै जाने, नेतृत्वले कार्यकर्ताको भावना, त्याग र योगदानको कदर होइन व्यक्तिवादी निर्णय गर्ने लगायतका खराबी नेतृत्वमा रहेका छन् । केहि नेताहरुमा नैतिकता, पारदर्शिता, जिम्मेवारीको अभाव, भ्रष्टाचारमा संलग्नता, सुविधाभोगी चरित्र, जनताको त्यागमाथि कुठाराघात आदिले आन्दोलन प्रतिको जनआस्था घटाएको छ । जब यस्तो प्रवृत्ति मौलाउन पुग्छ । त्यसप्रकारका कम्युनिस्टहरुबाट क्रान्तिको सम्भावना असंभव हुन पुग्दछ ।
* अन्य समस्याहरु: क्रान्तिप्रतिको कुनै नयाँ विचार, कार्यदिशा, रणनीति, कार्यनीति, कार्यक्रम सम्बन्धि कुनै दृष्टिकोण विना केवल अनजान रूपमा पलाएको महत्वाकांक्षी, दम्भ, कमजोर क्षमता र पदिय लोलुप्ता तथा आफ्नो कमजोरी छोप्न राजनैतिक जलप दिने उद्देश्यमा आधारित सतही वा अर्धबुझाइ तथा झोकको भरमा या चिया गफमा छिनभरमै कुनै एउटा फुर्को झुन्डाएर कम्युनिस्ट पार्टी बनाएको घोषणा गर्ने नाममा पत्रकार बोलाएर भद्दा अभिव्यक्ति दिने छाडा प्रवृत्ति अर्को समस्या हो । यस्ता विभाजनबाट वर्गसमाजमा अविश्वसनीयता पैदा गर्ने, व्यक्ति आफै पतन हुने र नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने जस्ता गम्भीर समस्या पैदा हुन्छन् । यस्ता व्यक्ति विशेषलाई होइन, वर्गबिहिन, शोषणरहित समाज निर्माण गर्न, वर्गसंघर्षको महत्त्वलाई धुरीमा राखेर समस्याको समाधान दिनु उपयुक्त हुन्छ ।
* कम्युनिस्ट आन्दोलनमा विद्रोह: विद्रोह र विभाजन रूपमा उस्तै देखिएपनि सारमा नितान्त फरक विषय हुन् । विभाजनले कम्युनिस्ट वा कुनै पनि पार्टीलाई कमजोर बनाउँछ भने विद्रोहले तत्काल आफ्नो विचार, क्रान्ति तथा पार्टीको रक्षा र दीर्घकालीन रूपमा त्यसको विकास गर्दछ । विभाजनको आधार विचलन, भ्रष्टीकरण अनियमितता, व्यक्तिगत स्वार्थ, पदलोलुपता, व्यक्तिवाद, भ्रष्टाचार, संसदीय सत्तामोह र विचारमा विचलन हो भने विद्रोहको आधार क्रान्तिप्रतिको गाम्भीर्यता हो । जस्तो कि कम्युनिस्ट पार्टीको पुरानो नेतृत्वसंग सम्बन्धित राजनैतिक घटनाक्रमको तथ्यले नेतृत्वले क्रान्तिको बाटो छोडेको पुष्टि भएमा वा आर्थिक गतिविधि अशोभनीय भएमा, नेतृत्वतहमा पुँजीवादी चरित्र देखा परेमा, देशीविदेशी दलाल पुँजीवादीहरुसंग अनावश्यक हिमचिम बढाउने र भाइचारासंगको सम्बन्ध कम आक्ने स्थिति देखा पर्ने आदि जस्ता कम्युनिस्ट विचारसंग मेल नखाने गतिविधि देखिन्छ भने विद्रोह गर्नु अनिवार्य आवश्यक हो । त्यस्तो गतिविधिको पूर्वक्षितिजमा बेथिति, भ्रष्टाचार, मानव तस्करी, घुस, नागरिकको वा प्राकृतिक सम्पत्तिको लुटपाट आदि जस्ता पुँजीवादी विकृतिका “राश” भण्डारण हुन्छन् । जब संसदवादी कम्युनिस्ट नेताहरू त्यही संसदिय व्यवस्था स्विकार्दै दलाल पुँजीवादी सत्तामा सामेल हुन्छन् अनि उहीँ “भास”मा डुब्न् पुक्दछन् । चित्र र चरित्र स्पष्ट हुन्छ र भइरहेकै छ । त्यस्तो अवस्था देखिन खोजेमा वा देखिएमा विद्रोह अनिवार्य आवश्यक हुन्छ । पछिल्लो समयमा कामरेड विप्लवको वैचारिक नेतृत्वमा विद्रोह भयो । त्यसले नयाँ र दूरदर्शि नेतृत्व, बलियो कम्युनिस्ट पार्टी क्रान्तिको नयाँ कार्यदिशा (एकिकृत जनक्रान्ति) र विचारमा नयाँ विकाससहित क्रान्तिको गति पकड्दै क्रान्तिका लगि कम्युनिस्टहरुको ध्रुवीकरण र पार्टी एकताको आधार खडा गरेको छ ।
* पुनर्मिलन: कम्युनिस्टहरुबीच पुनर्मिलनको सम्भावना बलियो हुँदाहुँदै असम्भावनाका परिणाम देखापर्दै आइरहेका छन् । पुनर्मिलनका लागि मार्क्सवाद-लेनिनवाद- माओवादको पथप्रदर्शक सिद्धान्तमा आधारित नयाँ वैचारिक नेतृत्व, बलियो कम्युनिस्ट पार्टी, क्रान्तिको मूलपद्धति वर्गसंघर्ष, नयाँ कार्यदिशा, वैज्ञानिक समाजवादमा सहमत हुने पार्टीहरुबिच पुनर्मिलनको सम्भावना छ । यसको लागी गम्भीर बहसको आवश्यक छ ।
* निष्कर्ष
आजको परिवर्तित अवस्थामा क्रान्तिको पद्धति फेरिनु आवश्यक हो तर पुँजीवादी साङ्लोमा जेलिएको पद्धति होइन, समाजवाद अनुकूल पद्धतिमा विकास गर्नु आवश्यक हो । विभाजनको कारण कम्युनिस्ट आन्दोलन सिद्दियो भन्ने केही मानिसको बुझाइ सत्य होइन । विभाजनले केही समय व्यतित र केहि बाधा पुर्याएको छ, सिद्दीएको छैन । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा, उत्पीडित वर्ग, मध्यमवर्ग तथा जनताको साथ, नयाँ विचार र कार्यदिशासहित समाजवादी क्रान्ति गतिमा छ ।नेपाली कम्युनिस्ट आन्दोलनमा आजको आवश्यकता नेपाली विशेषतासहितको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । समाजवादी सत्तामा सहमत हुने कम्युनिस्ट पार्टी, त्यसको नेतृत्व वा व्यक्तिहरुबीच क्रान्तिकारी ध्रुवीकरण या पार्टी एकताको आवश्यकता छ । त्यसका लागि मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शक सिद्धान्तमा आधारित कम्युनिस्टहरुको वैचारिक प्राथमिकतामा रहेको द्वन्द्वात्मक भौतिकवाद, क्रान्तिको मूलपद्धति, नयाँ रुपको (वर्गसंघर्ष) दूरदर्शि, दृढ र नयाँ नेतृत्व, बलियो कम्युनिस्ट पार्टी र (एकिकृत जनक्रान्ति) को कार्यदिशामार्फत लक्ष्यमा पुग्ने विकल्प नै आजको उत्तम विकल्प हो ।