
शितल सी
भूमिका
दलाल पुँजिवादी राज्य सत्तामा राज्यका प्रमुख नेता उच्च अधिकारीहरू, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तथा उच्च वर्गका व्यक्तिहरु देशी/विदेशी पूँजीपतिहरूसँग मिलेर काम गर्छन् । यसले राज्यको नीति र निर्णयलाई एकदमै व्यक्तिगत र दलालहरूको स्वार्थपूर्ण बनाउँछ । जसले समाजको ठूलो हिस्सामा असमानता र शोषणको सिर्जना गर्छ । त्यसकारण नेपालको संसदीय दलाल पुँजीवादी राज्य सत्ताका (प्रमुख नेताहरू) जेनजी विद्रोहको निशानामा पर्नै थियो, पर्नु ठिक थियो र परे ।
उनीहरू राष्ट्रघाती, जनविरोधी, भ्रष्टचारी, कुरूप, हिंस्रक भैसकेका छन् । उनीहरू कुरूप हुनुमा आफै पनि दोषी हुन्, त्यसमा संसदीय दलाल पुँजिवादी “राज्य व्यवस्था र सत्ता”बढी दोषपूर्ण छ । राज्य व्यवस्था त्यस्तो साधन हो, (राज्यको संरचना र शासन प्रणाली) जसले सरकारको स्वरूप र शक्ति वितरण तथा नागरिकको अधिकार वा व्यवस्था गर्छ भने राज्य सत्ता भनेको त्यस्तो हतियार हो, (राज्यको शक्ति र अधिकार) जसले कानुनी र संस्थागत रुपमा शासन गर्छ । यसमा न्यायपालिका, व्यवस्थापिका र राज्यका सबै अङ्गहरू सामेल हुन्छ । त्यसैले “राज्यको संरचना र शासन प्रणाली” “राज्यको शक्ति र अधिकार” नै (राज्य व्यवस्था र सत्ता) हो । विश्वका पुँजीवादी राज्यसत्ता पूँजीपति वर्गको प्रभाव जबरजस्त कायम रहेको सत्ता हो भने दलाल पुँजीवादी राज्य सत्ता दलालहरूको सहभागिता रहेको सत्ता हो । जुन उही पुँजीवादको विकृत रूप हो । जहाँ राज्यका नेता र व्यवस्थापिका व्यक्तिगत फाइदा र सत्ता स्वार्थका लागि पुँजीपतिहरूसँग हारगुहार गर्दछन् । त्यस्तो सत्तामा दलाल पुजीपति शक्तिशाली हुने र उनीहरू नै राज्य सत्ताभन्दा माथि रहेर अदृश्य रुपमा राज्य सञ्चालन गर्दछन् । त्यसकारण राज्यका सबै क्रियाकलाप दलाल पुँजीपतिको पक्षमा हुन्छन् । त्यस्तो (राज्य व्यवस्था र सत्ता) स्वत:पुजिपति र साम्राज्यवादी शक्तिको पक्षधर तथा भ्रष्टाचारी, देशद्रोही, राष्ट्रघाती, जनविरोधी हिंस्रक हुन्छ । त्यस्तो राज्य सत्ता जेनजि विद्रोह या कुनैपनि परिवर्तनकारी विद्रोहको मुख्य निशाना बनाउनै पर्छ । त्यस्तो सत्तालाई निशाना बनाइएन भने, या ढाल्न सकिएन भने कुनैपनि परिवर्तन हुँदैन । दलाल राज्य सत्ता:जेन्जी विद्रोह निशाना बन्यो या बनेन? निशाना लाग्यो या लागेन? सत्ता ढल्यो या ढलेन? को आए अन्तरिम सरकारमा? कसको निर्देशनमा बन्यो सरकार? कसरी हेरेको छ, अन्तरिम सरकारले ऐतिहासिक जेन-जि विद्रोहका सहिद/घाइतेलाई? आज हाम्रो सामु यी जब्बर विषय छन् । यसमा कुनैले कसैमाथि दोष या गुणको कुरा होइन, हामी परिवर्तनकारी शक्तिले वास्तविकताको धरातलमा उभिएर बहस, छलफलसहित राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै नेपाल अनि नेपालीलाई अग्रगामी निकास दिनै पर्छ ।
(१) जेनजि विद्रोहको प्रभाव:
नेपाल सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी (नयाँ पुस्ताले)मिति २०८२ भदौ २३/२४ गते ऐतिहासिक तथा वीरतापूर्ण विद्रोह गरे, पहिलो दिनको आन्दोलनमा राज्यको नरसंहारकारी दमनको सामना गर्दै कैयौँ जेन्जीहरुले आफ्नो जीवनको बलिदान दिनुभयो । देशको लागि जीवन बलिदान गर्ने महान सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौं ।
नेपालको दलाल सरकारका शासकहरूले समाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचार, राज्यका सीमित व्यक्तिहरूको मनपरी, दादागिरी, कुशासन र अनेकौं बेथितिका कारण त्यसका विरुद्ध तथा राज्यको संरचनागत सुधार र सामाजिक परिवर्तनका लागि नयाँ पुस्ताले ऐतिहासिक तथा वीरतापूर्ण विद्रोह गरे उक्त विद्रोहद्वारा नेपालको राज्यसत्ता कुल २७ घण्टाको छोटो समयमा सत्ता ढालेको विश्व इतिहासमा यो नै पहिलो घटना हो । विद्रोहसँगै केही बाह्य हस्तक्षेप, निर्देशन, घुसपैठका समस्या छन् । तर जेन्जी विद्रोहले “वीर नेपाली” भन्ने सत्यतालाई पुष्टि गरेको छ । पहिलो दिनको आन्दोलनमा राज्यको नरसंहारकारी दमनको सामना गर्दै कैयौँ नयाँ पुस्ताले देश र जनताको लागि आफ्नो जीवनको बलिदान दिनुभयो, सहिद हुने सबै नेपाली जेनजी नै हुन् । भदौ २३ को उच्च बलिदानले भदौ २४ गते साहसिक विद्रोहको जन्म दियो । त्यही विद्रोहको आँधीबेहरीले संसदीय शासन प्रणालीको दलाल पुँजीवादी राज्यसत्ता असफल सावित गर्दै ध्वस्त बनायो । सत्ता सञ्चालन गरिरहेका संसद्वादी ठुला पार्टीका केही भ्रष्ट नेताहरुलाई रातारात, भागाभागको स्थितिमा पुर्यायो । त्यसका पुराना प्रतिनिधि नेताहरुलाई राजनैतिक रङ्गमञ्चको महलबाट रद्दीको टोकरीमा फ्याँकिदियो । तिनीहरूलाई भ्रष्टाचारी, घुस्या, राष्ट्रघाती जनविरोधी, मानव तस्करी, हिंस्रक सावित गर्यो । सम्भवत:उनीहरूको राजनीतिक रूपले जनताको बीचमा जाने नैतिक आधार प्राय:समाप्त भयो ।
(२) विद्रोह पछिको संसद/सत्ता/अन्तरिम सरकार: (को) संसद विघटन वास्तविकता कि एक राजनीतिक नाटक: नयाँ पुस्ताले उत्तरदायी नेतृत्व, पारदर्शिता र नयाँ सोचको माग गरेको हुन् । जुन पुराना दलहरूको शक्ति र संरचनाहरूसँग टक्राउँछ ।
अहिले नेपालमा (जेनजि) विद्रोहले जन्माएको नभई साम्राज्यवादी, पर-जातको कृत्रिम गर्भबाट जन्मेको पुरानै पाखण्डी, दलाल, शक्तिको अन्तरिम सरकार छ । त्यही सरकारले भ्रमित शब्दजालमा विघटित संसद् २०८२ फाल्गुन २१ पछि बिउँझाउने गरी सुरक्षित राख्नु, राज्यको संरचनागत परिवर्तनको विषय इनकार गर्नु, पुरानो संविधान यथावत राख्नु, जस्ता परम्परागत तर पर-निर्देशित, साेच, विचार र सडेको पुरानो शक्तिले (जेनजि) ले माग राखे जस्तो:उत्तरदायी नेतृत्व, पारदर्शिता र नयाँ साेचको स्थान दिने कुनै सम्भावना रहँदैन । बरु साम्राज्यवादीहरुको पाउ परेर, राष्ट्रिय स्वाधीनतालाई दाउमा राखेर, बेचेर, परिवर्तनकारी, विद्रोहीलाई झुक्याएर प्रतिगमनको जिम्मा लिएका यथास्थितिवादिहरुले नयाँ सोचको नेतृत्व सत्तामा आउन नदिने खेल खेलिरहेका छन् । यो कुरा जेनजि, कम्युनिस्ट, वामपन्थी, राष्ट्रवादी र आम नेपालीले बुझ्नै पर्छ । यदि विघटनको कारण (प्रणालीगत असफलता, राजनीतिक अस्थिरता, पुरानो नेतृत्वमाथि जनविश्वासको ह्रास) मान्य हो भने, नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न संरचनागत परिवर्तन गर्नै पर्छ । संविधानको पुनर्लेखन गर्नै पर्छ । तर दलाल सत्ता र पुरानो संरचनालाई बचाएर गरिएको संसद विघटनको लक्ष्य: पुरानो सत्ताको शक्ति जोगाउन, विपक्षी गठबन्धन विद्रोही या (नयाँ पुस्तालाई) रोक्न वा चुनावलाई आफ्नो अनुकूल बनाउन गरिएको राजनैतिक नाटक मात्र हो ।
(३) राज्य सत्ताको पछिल्लो अवस्था:
नेपालका जेनजी विद्रोही र परिवर्तनकारी नेपालीले बुझ्नै पर्ने अर्को महत्वपूर्ण पक्ष के हो भने नेपालको जेनजी विद्रोहले पुरानो राज्य सत्ताका शासकहरु भत्काएको छ । पुरानो शासकहरूको संरचना हल्लिएको छ । तर राज्य सत्ता (state power) को संरचनात्मक स्वरूप भत्किएको छैन, प्रणाली परिवर्तन भएको छैन, राज्यका प्रमुख संस्थाहरू (प्रशासन, सेना, कानुनी संरचना, नीति बनाउने संयन्त्र) सबै पुरानै सोच र ढाँचामा चलिरहेका छन् ।
आर्थिक राजनैतिक गडजोड (old money +old politcs) अझै प्रभावकारी छ । त्यसैले संरचनागत राज्य सत्ता भत्किएको छैन । पुरानो प्रणाली जिउँदै छ । हामीले यही विषयलाई “राज्य व्यवस्था र सत्ता” विरुद्ध निशानाको कुरा उठाएका छौं । त्यसमा निसाना लागेन, या पुरानो सत्ता ढलेन । त्यसैले संसदीय शासन प्रणाली र दलाल पुँजीवादी राज्य सत्ता ढलाउन: जेन जि(नयाँ पुस्ता), कम्युनिस्ट पार्टी, राष्ट्रवादी शक्ति तथा आम नागरिक एक साथ उठ्न जरूरी छ । पुरानो सत्ता नढाल्दासम्म अरु कल्पना गर्नु व्यर्थ हुन्छ ।
जेनजी विद्रोहलाई वा परिवर्तनकारी शक्तिलाई: पूर्ण राज्यसत्ता भत्काउने आन्दोलन बनाउन ३ महत्वपूर्ण कुराको आवश्यक छन् ।
* संस्थागत: वैकल्पिक संरचना निर्माण, नयाँ राजनीतिक कम्युनिस्ट पार्टी, नीति निर्माणको नयाँ ढाँचा, स्वतन्त्र नियमन संस्था बनाउनुपर्दछ ।
* विचार र मूल्यमा निरन्तरता: स्थायी राजनीतिक चेतना बन्नुपर्दछ ।
* पुरानो संरचनासँग चुनौती: दल-व्यापार प्रशासन-गठजोड तोड्न सक्नुपर्छ ।
(४) अन्तरिम सरकारको गठन र स्वरूप:
जब अन्तरिम सरकार गठन प्रक्रिया सुरु भयो तब जेनजी विद्रोहका जायज मुद्दा, मूल्य र शक्तिलाई पाखा लगाएर, नेपाल कम्युनिस्ट पार्टीले जनताका जल्दाबल्दा मुद्दाहरूमा विगतदेखि संघर्ष गरिरहेका विषय र राजनीतिक शक्तिलाई वेवास्ता गर्दै नागरिक अधिकारको हनन गर्दै अर्को थरी छद्मभेसी, पाखण्डी, नयाँ दलालहरु र उनका विदेशी प्रभुको जोडबलमा पूर्व प्रधान न्यायधीश सुशीला कार्कीको नेतृत्वको कथित अन्तरिम सरकार बन्न पुग्यो । जबकी परिवर्तनकारी विद्रोहको महत्वपूर्ण खण्ड र त्यसको मूल मर्म नै आन्दोलनका उपलब्धिको रक्षा गर्दै राज्यको संरचनागत परिवर्तन, राजनीतिक, आर्थिक, समाजिक, सांस्कृतिक सबै पक्षमा अग्रगामी परिवर्तन गर्नु हो । त्यसका लागि सडकबाटै संसद विघटन, विद्रोही पक्षका या उनीहरुले छानेका विज्ञ व्यक्तिको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार गठन, संविधानको पुनर्लेखनका लागि विषय विज्ञ टोली गठन, राज्यको पुनर्संरचना, भ्रष्टाचारीमाथि कारबाही लगाएतका विषयहरू विद्रोहीका अग्रणी र देश र जनताका लागि अनिवार्य आवश्यक विषय हुन् । तर आजको अन्तरिम सरकार र त्यसको निर्देशक पाखण्डी, नयाँ दलालहरू साम्राज्यवादी शक्तिको आडभरोसामा जेनजी विद्रोहका मूल मर्मलाई लत्याउँदै देश र जनताका महत्वपूर्ण अग्रगामी तथा अनिवार्य कार्य विपरीत खडा भएका छन् । सत्ता परिवर्तन भएको छैन, केवल एकथरी दलाल उसको शासन सत्ताबाट हटेको छ, अर्को दलाल उही शासन सत्तामा आसिन भएको छ । फाल्गुन २१ को चुनाव कुनै सत्ता, व्यवस्था वा संरचना बदल्ने चुनाव नभई एउटा दलाल शासकको ठाउँमा अर्को दलाललाई शासक बनाउन गरिने संसदीय चालबाजि मात्र हो । यसलाई विवेकपूर्ण तरिकाले चिर्न जरुरी छ ।
(५) जेनजि विद्रोह पछिका केही दृश्य:
नेपालका केही बुद्धिजीवी र जनताहरूको अनुसार यही संसदीय शासन प्रणालीबाट देशमा अग्रगामी निकास दिन सकिन्न भन्नेमा प्राय:सहमत छ । यसमा (जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख) हुने शासकीय स्वरूपप्रति (अज्ञानता) को कारण केही भ्रमपूर्ण समर्थन देखिन्छ । तर विश्वका चीन, क्युबा, उत्तर कोरिया, लगायत केही देशबाहेक सबै देशमा पुँजीवादी, दलाल पुँजीवादी सत्ता चलिरहेका छन् । कतै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने अमेरिकी राष्ट्रपतिय प्रणाली, कतै बेलायती संसदीय प्रणाली यी दुवै पुँजीवादी सत्ता सञ्चालनकै प्रणाली हुन् ।संसदीय व्यवस्था र दलाल पुँजीवादी राज्य सत्ता रहँदासम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने प्रणाली विकल्प हुनै सक्दैन । संसदीय व्यवस्थामा त्यसले अझ
निरंकुशता, तानाशाही प्रवृत्ति जन्माउन पनि सक्छ । बरु नेपाली विशेषताको समाजवादमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने प्रणाली उपयुक्त हुन्छ ।
सुशीला कार्कीको अन्तरिम सरकारले गराउने भनेको २०८२ फाल्गुन २१ को प्रतिनिधि सभाको चुनाव घोषणा जनताको सहज सहभागितामा कार्यान्वयन गर्ने उद्देश्य नभई, लडाउने, भिडाउने र धमिलो पानीमा माछा मार्ने उद्देश्यमा आधारित देखिन्छ । यहि अन्तरिम सरकार या कुनै शक्तिले कुनै विधिबाट गराउने संसदीय चुनाव ढिलो वा छिटो हुने सम्भावना भएपनि, जनताका प्रतिनिधि चुन्ने होइन कि, एकथरी दलालको ठाउँमा अर्को जनविरोधी, राष्ट्रघाती दलाललाई सत्ताको खेलमात्र हो । तर जनधरातलमा जनताको मनोविज्ञान चुनाव विरुद्धमा आक्रामक छ । पुरानै पार्टी, पुरानै नेता, पुरानै तरिकाको संसदीय चुनाव जनताले देख्न र सुन्न पनि चाहँदैनन् । बिस्तारै माहोल फरक हुन सक्छ । सत्य यही हो, घोषित चुनाव राज्यद्वारा लादिएमा चुनावभन्दा बढी लडाई, भिडन्त, हत्या, आतंक, युद्धको दुश्चक्रमा राज्य फस्ने प्राय: निश्चित छ । तर अन्तरिम सरकारले तोकेको फाल्गुन २१ को चुनाव कार्यान्वयन गर्ने उद्देश्यमा आधारित नभई केवल अराजनीतिक फण्डा हो ।
निष्कर्ष
विदेशी शक्ति केन्द्रको निर्देशन र साम्राज्यवादका प्रतिनिधि छद्मभेसी दलालहरूको योजनामा विद्रोह पूर्ण सफल हुन सकेन । तर जेनजि विद्रोहले संसदीय शासन प्रणालीको दलाल पुँजिवादी राज्यसत्ता असफल भएको पुष्टि गर्दै बाँकी अंश ध्वस्त बनायो । संसदवादी राजनैतिक पार्टीका भ्रष्ट नेताहरुलाई राजनीतिक रंगमञ्चको महलबाट रद्दीको टोकरीमा फ्याँकिदियो र सम्भवत: उनीहरू राजनीतिक विषयमा जनताको बिचमा जाने आधार भत्काइदिएको छ । विद्रोहले नेपालको दलाल पुँजीवादी राज्यसत्ताका भ्रष्ट प्रतिनिधिहरूलाई करिब २७ घण्टामा ढाल्न सफल हुँदै विरताको विश्व रेकर्ड बनाउन सफल भयो । जेनजी विद्रोहले पुरानो सत्ताका शासकहरू भत्काएको छ, तिनको संरचना हल्लिएको छ, तर राज्य सत्ता (state power) को संरचनागत स्वरूप भत्किएको छैन, प्रणाली परिवर्तन भएको छैन, राज्यका प्रमुख संस्थाहरू: (प्रशासन, सेना, कानुनी संरचना, नीति बनाउने संयन्त्र) सबै पुरानो ढाँचामा चलिरहेका छन् । आर्थिक राजनीतिक गडजोड (old money+old politcs) अझै प्रभावकारी छ, संरचनागत सत्ता भत्किएको छैन । विद्रोहको निशाना राज्य व्यवस्था र सत्ता विरुद्ध हुनुपर्दछ । दलाल पुँजीवादी सत्ता ढाल्न र समाजवादी व्यवस्था स्थापना गर्न नेपाल कम्युनिस्ट पार्टी, जेनजी (नयाँ पुस्ता) कम्युनिस्टहरु, राष्ट्रवादी शक्ति, बुद्धिजीवी लगायत देशको माया गर्ने सबै नेपाली नागरिक एकजुट होऔं! नेपालमा नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापनाको लागि देशले नयाँ नेतृत्व खोजिरहेको छ ।त्यस्तो नेतृत्वको जन्म भएको छ ।