गाउँमा गुञ्जिरहेछ तीजको लहर
दिदी, बहिनी र भाउजूहरू
भएर आगनमा जम्काभेट
लगाएर रातो साडी र गुन्युचोलो
गाएर पुर्ख्यौली र रत्यौली भाकाहरू
नाचिरहेछन् संगिनी नाच ।
ठिक यहीं बेला
लोक धुन र गीतहरू बिर्सिएर
फोहोरी भाका र नाचहरू
मस्त नाचिरहेछन् स्कुले नानीबाबू
र भट्टीमा पसेर निस्किएको भर्खरको नयाँ पुस्ता
म रिसले अच्युत भएको छु
र सम्झिरहेछु
पचास साठ्ठीको दशकनिर
यहीं भूगोल र बस्तीमा गाइएका गीतहरू
शिरैको शिरफूल बन्दकी राखेरु
डिलै र मुनिको दुईपाते तुलसा
स्मृतिमा घुमिरहेछन्
बिमाकुमारी दुरा र शर्मिला गुरुङहरू
म खोजिरहेछु
हुर्किदै गएका काकरीको झालहरूमा
लोक संगीतका भाकाहरू
म खोजिरहेछु
गुम्दै गरेको मौलिक संस्कृति
फकृदै गरेको करेलीका बोटहरूमा ?
उनीहरू जीवनको ओझ र महत्त्वलाई बिर्सिएर
लोक भाका र गीतहरूको जरा काटेर
बेसुरमा गाइरहे पनि/बेसुरमा नाचिरहे पनि
म नयाँ आशामा सास फेरिरहेछु
पक्कै एकदिन
माइतीघरमा नानी आए झै
रात ढलेर बिहानी आए झै
एकताका धुनहरू अन्तिम उचाइमा पुगेपछि
सदा सदाका लागी
गर्ल्यामगुर्लुम धल्नेछ, फोहोरी संस्कृति
अनि बोकेर जनताका सुखदुःखका गीत
फेरि नयाँ मार्गबाट आगमन हुनेछ, हरितालिका तीज ।
कविता : लोक भाका र गीतहरू