१२ श्रावण २०८१, शनिबार

महिला सधैँ जित्ने वर्ग हो, हारेको इतिहास छैन : प्रवक्ता प्रकाण्ड

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले महिला वर्ग सधैँ जित्ने वर्गका रुपमा स्थापित भएको बताएका छन् । शनिबार काठमाडौंमा बसेको अखिल नेपाल महिला संघ क्रान्तिकारी बागमति प्रदेशको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रकाण्डले इतिहास हेर्दा अपवादबाहेक महिलाले सधैँ जित्ने गरेको बताए ।

नेकपा बागमती प्रदेश इन्चार्जसमेत रहेको प्रकाण्डले विश्वका कुनै पनि क्रान्ति महिलाको सहभागिता विना सम्भव नभएको तर्क गर्दै नेपालमा एकीकृत जनक्रान्ति पनि महिला सहभागिताविना सम्भव नहुने बताए । ‘जनयुद्धमा हजारौं महिलाको सहभागिता रहेको थियो । उहाँहरुले ठूलो संघर्ष र बलिदान पनि गर्नुभएको छ । उहाँहरुको बलिदानका कारण नेपालमा महिलालाई ३३ प्रतिशत अधिकार प्राप्त भएको छ ।’, उनले भने, ‘हामीले संविधान निर्माणको क्रममा पनि ३३ प्रतिशतले महिलालाई सत्ताको मालिक बनाउन सकिदैन भनेका थियौै । हामीले महिलाको सहभागिता र अधिकार ५१ प्रतिशत हुनुपर्छ भनेका छौं । एमाले कांग्रेस त्यसमा तयार भएनन् । यो तपाईंहरुकै बलिदानका कारण भएको हो । ’

उनले संघर्ष गर्ने क्रान्तिकारी महिलाहरु सत्ताबाहिर हुनु नेतृत्वमा देखिएको विचलनता मुख्य कारण भएको बताए । ‘अहिलेको शिक्षा मन्त्री सुमना श्रेष्ठको नेपालको क्रान्तिकारी आन्दोलनमा कुनै पनि भूमिका छैन । जनयुद्ध, एकीकृत जनक्रान्तिमा तपाईंहरुले (महिला) गरेको संघर्ष र बलिदानका कारण उहाँ मन्त्री बन्नुभएको छ ।’, बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘विद्यादेवि भण्डारी राष्ट्रपति बन्नुभयो, अहिले आएका तोसिमाहरु पनि जनयुद्धकै देन हो । आरजुदेखि अरु थुप्रै महिला पनि तपाईंहरुकै योगदानका कारण सत्तामा छन् । तर हामी अझैं संघर्ष मै छौं । हाम्रो नेतृत्वको कमजोरीमा कारण हामी त्यो बेला हारेका थियौं । अब हामीसँग सहि नेतृत्व छ । महिलाले अपवादबाहेक संधै जितेका छन् । हामी पनि जित्छौं ।’

उनले नेपालमा गणतन्त्र ल्याउन पनि महिलाको भूमिका रहेको बताए । ‘राजावादी कांग्रेस र राजावादी एमालेलाई गणतन्त्रमा ल्याउन तपाईंहरुको हात छ । गणतन्त्र क्रान्तिकारी महिलाहरुको भूमिकाले आएको हो ।’, उनले भने, ‘तर यो गणतन्त्र अहिले संकटमा छ । देश संकटको भूमरीमा छ । यहि स्थिति लामो समयसम्म गयो भने जनताले सहन सक्नेछैनन् । हामीले जिम्मेवारी पूर्वक, सचेतताका साथ संघर्ष गर्नुपर्ने छ । हामी एकीकृत जनजक्रान्ति पुरा गरेर अहिलेको दलाल पुँजीवादी राज्यसत्तालाई जनताको राज्यसत्तामा परिवर्तन गर्न संघर्षमा छौं । त्यसमा तपाईंहरुको भूमिका निकै महत्वपूर्ण हुनेछ ।’

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष धिरेन्द्रा सीको अध्यक्षतामा बसेको बैठक जनसंगठन विस्तार अभियान चलाउने, नेपाली विशेषताको समाजवाद र महिला विषयक अन्तरत्रिया गर्ने, विभिन्न जिल्लाहरुमा सम्मेलन गर्ने, प्रकाशन गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पूर्वी ताम्सालिङ व्युरोमा कार्यरत पवित्रा सीलाई विदाई गरेको छ भने मजदुरबाट आएकी मिना सीलाई स्वागत गरेको छ । बैठकमा अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सी, महासचिव राजकुमारी सी लगायतका नेतृहरुको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।