२२ भाद्र २०८१, शनिबार

नेकपा गण्डकी प्रदेशले गर्यो तनहुँको झप्रीमा २२ रोपनी खेतमा रोपाइँ सम्पन्न

0

शाहास भट्ट ।
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले २२ रोपनी खेतमा धान रोपाइँ सम्पन्न गरेको छ ।
शनिबार तनहुँको बन्दिपुरमा नेकपा गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुबाट सय हाराहारीका नेता कार्यकर्ताहरुको सहभागितामा बर्षे धान रोपाइँ सम्पन्न गरेको हो ।
नेकपाको केन्द्रीय नीति अन्तर्गत श्रमलाई सम्मान गरौं! श्रम संस्कृतिको निर्माण गरौं !! भन्ने मूल नाराका साथ सुरु भएको एकीकृत उत्पादन प्रणाली यतिखेर देशैभर जारी छ ।
नेकपाको नवौं महाधिवेशनले पारित गरेको एकीकृत उत्पादन प्रणाली, आत्मनिर्भर देश आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता कार्यकर्ता अभियानले तिब्रता पाएको छ । राजनीतिक वैचारिक कामसङ्गै उत्पादन र श्रम संस्कृतिलाई पनि एकैसाथ लैजानु पर्ने जोडबलका साथ असार १० गतेदेखि ३१ गतेसम्म देशभरका सम्पूर्ण नेता कार्यकर्ता जनवर्गीय संगठनहरुलाई उत्पादन बिदा समेत दिएको छ । संसदवादी दलहरुको राजनीतिक खिचातानीलाई नजिकबाट नियाल्दै नेकपाका महासचिव विप्लवसहित स्थायी समिति, केन्द्रीय समिति जिल्ला समिति, सबै उत्पादनमा व्यस्त छन् ।
नेकपाकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको नेतृत्वमा प्रदेशभर उत्पादन कार्य द्रुत गतिमा बढिरहेको छ ।
प्रदेश कार्यालय र तनहुँ जिल्लाको संयुक्त पहलमा बन्दिपुरमा सम्पन्न २२ रोपनी खेतको धान रोपाइँमा सरिक नेता शिलुसङ्ग संचारकर्मीहरुले फिल्डमै गएर संसदवादी दलहरु सत्ताको खिचातानीमा रोइलो गरिरहदा तपाईहरु खेतमा हुनुहुन्छ राष्ट्रिय राजनीतिलाई कसरी हेरिरहनु भएको छ भन्ने प्रश्नको जवाफमा यो हामीले १० वर्ष अघिदेखि नै भन्दै आएको बुझ्दै आएको र यसको चरित्र सबै थाहा भइसकेकाले देशको जनताको ख्याल गर्ने पार्टीले त्यतातिर खासै ध्यान नदिएको बताइन् ।
उनले भनिन्, “संसदिय व्यवस्थाको चरित्र नै यहि हो यसबाट क्रान्तिकारीहरु उद्देलित हुन जरुरी छैन । हामी क्रान्तिकारी कम्युनिस्ट हौं मुख्य कुरा कम्युनिस्ट आचरण र व्यवहारको कुरा हो नेपालका आफुलाई सच्चा कम्युनिस्ट भनेर नथाक्नेहरुमा त्यो देखिदैन सत्ता स्वार्थ बाहेक तिनीहरुको दिमागमा केही छैन त्यसलाई हामी चिर्न चाहन्छौँ । कम्युनिस्टहरुले भन्दै आएको सामुहिकता एकीकृत स्वामित्व प्रणाली त्यो मुखमा मात्र सिमित राखेर श्रमबाट कटेर जुन परनिर्भरतामा रमाइरहेका छन् त्यसलाई हामी चिर्न चाहन्छौं ।”
उनले पार्टीले लिएको नेपाली विशेषताको समाजवादमा हामीले बनेको अर्थ व्यवस्था कस्तो हुन्छ, त्यो हामी आफैमा प्रयोग गरेर आम मान्छेलाई आकर्षण गर्न चाहेको बताइन् ।
त्यस्तै नेकपाका पोलिट ब्युरो सदस्य तथा बाग्लुङ जिल्ला इन्चार्ज आजाद सीले नेपालमै श्रम गरे कोही पनि परिवार पाल्नकै लागि विदेशिनु पर्दैन नेपालमा धेरै सम्भावनाहरु छन् भन्ने देखाउन चाहेको बताए ।
उनले भने,” हामी यो देशको श्रोत साधनहरुको प्रयोग गरेर पार्टी, नेताकार्यकर्ता लगाएत सिङ्गो नेपाललाई आत्मनिर्भर बनाउन चाहन्छौं ।”
त्यस्तै नेकपाका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज निशान सीले सम्पूर्ण युवा नौजवानहरुलाई विदेश मोह त्यागेर श्रममा जोडिन आव्हान गरे ।
त्यसैगरी केन्द्रीय सदस्य तथा उत्पादन विभाग गण्डकी प्रदेश प्रमुख उषा सीले प्रदेशभरी गरिएको यो लटको उत्पादनले नेकपाका नेता कार्यकर्ताहरु खानैको लागि कसैको भर नपर्नु पर्ने बताइन् ।
नेकपा तनहुँ र प्रदेश कार्यालयको संयुक्त रोपाइँ कार्यक्रममा गोरखा, बाग्लुङ, कास्की, स्याङ्जा, नवलपुर, लगाएत प्रदेश अन्तरगतका सबै जिल्लाहरु सहभागी थिए ।
साथै नेकपा केन्द्रीय सदस्य तथा प्रदेश कार्यालय सचिव बिकिरण सी, गोरखा सेक्रेटरी काजी सी, स्याङ्जा सेक्रेटरी दुर्गा सी, कास्की सेक्रेटरी उमेश सी, मनाङ जिल्ला सेक्रेटरी विजय सी लगाएत झण्डै सय जना नेताकार्यकर्ताहरु प्रत्यक्ष श्रममा जोडिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।