३१ भाद्र २०८१, सोमबार

समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्न उत्पादनलाई अघि बढायौँ : सन्तोष

0

घोराही । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्दै क्रान्ति सम्पन्न गर्न उत्पादनलाई अघि बढाएको बताएका छन् ।
शनिबार घोराही-१६ गरुवागाँउस्थित सी बहुउद्देश्यीय कृषि फर्मको करिब अढाई बिघा जमिनमा धान रोपाइँको उद्घाटन गर्दै नेता सन्तोषले उक्त कुरा बताएका हुन् ।

धान रोपाइँमा उद्घाटन मन्तव्य राख्दै नेता सन्तोषले भने– ‘ हामीले उत्पादनको नीति केबल हामी आत्मनिर्भर हुनलाई मात्र अघि बढाएका होइनौं । हामीले उत्पादन कार्यलाई समाजवादी अर्थतन्त्रको निर्माण गर्दै क्रान्ति सम्पन्न गर्ने उद्देश्यसंग जोडेका हौं । समाजवादका श्रम र उत्पादन अनिवार्य सर्त हो ।’

नेता सन्तोषले लुम्बिनी प्रदेशभरी पार्टीले करिव २५ बिघा क्षेत्रफलको जमिनमा धान रोपाइँ गरिरहेको बताए । दाङमा मात्रै पार्टीले करिव १३ बिघा जमिनमा धान खेती गरिरहेको उनको भनाइ छ ।

हामीले हाम्रो उत्पादनबाट आयात रोक्ने प्रयास गरेका छौँ, नेता सन्तोषले थप भने, ‘नेपालमा बर्सेनी खर्ब बराबरको खाद्यान्न आयात हुने गरेको छ । हामीले हाम्रो उत्पादनबाट आयात रोक्ने केही हदसम्म प्रयास गरिरहदा यहाँका श्रमजीवी जनता खुशी छन् भने केही दलालहरुलाई मन परेको छैन । जे सुकै होस् हामी हाम्रो उत्पादनको नीति रोक्दैनौँ, अझै भनौ हामी हाम्रो उत्पादन अब पुजिपतीसंग प्रतिस्पर्धा गर्ने सोचमा छौँ ।’

हामी नेताकार्यकर्ता र पार्टी दलालमा परिणत नहोस् भनेर पनि उत्पादनको नीति लिएका छौँ, नेता सन्तोषले थपे, ‘ यो उत्पादन केवल हामीले आफुलाई आत्मनिर्भर बनाउन मात्रै होइन, यसको दूरगामी महत्व र दृष्टिकोण छ । पहिलो कुरा उत्पादनबाट तत्कालिक हिसाबले पार्टी र नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउने कुरा छ । दोस्रो हाम्रो पार्टी र हामी आत्मनिर्भर भयौं भने हामी कुनैपनि पुजिपती वर्गको अगाडि हात पसार्नु पर्दैन । हाम्रो पार्टी, हामी नेताकार्यकर्ता अरु पार्टी जस्तो दलालमा परिणत भएजस्तै हामी दलालमा परिणत हुनेछैनौँ । दलालमा जाने त्यो परिणतिबाट पार्टीलाई जोगाउनको निम्ति र क्रान्तिलाई जोगाउनको निम्ति पार्टीले यो नीति लिएको छ । यो नितिले नै अन्तिममा क्रान्ति सम्पन्न गर्नेछ भन्ने पार्टीको ठहर छ । यदि हामी कसैको अगाडि झुक्दैनौँ भने, कसैको अगाडि करकापमा पर्दैनौँ भने कसैको अगाडि राजनीतिक रुपले झुक्नु पर्ने बाध्यता पनि हुँदैन । राजनीतिक रुपले कसैसंग झुक्नु परेन भने आफ्नो वर्गको निम्ति, जनताको निम्ति लड्ने नैतिक बल प्राप्त हुन्छ । उत्पादनबाट क्रान्ति सम्पन्न गर्ने मूल लक्ष्य राखेका छौँ ।’

नेता सन्तोषले नेकपाले यो देशलाई संसदीय व्यवस्थाबाट मुक्त गरेर समाजवादी मुलुकमा रुपान्तरण गर्न चाहेको समेत बताए ।

धान रोपाइँको उद्घाटन कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी तिलक सीले गरेका थिए भने कृषि फर्मको बारेमा संक्षिप्त प्रतिक्रिया पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले राखेका थिए ।

यस्तै नेकपाको आग्रहमा पार्टीको घोराही उत्पादन केन्द्रको धान रोपाइँको अवलोकन गर्न पुगेका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (बसन्त) लाई पार्टीका नेताकार्यकर्ताले स्वागत गरेका थिए ।

नेकपाको उत्पादन केन्द्रमा पुगेका प्रदेश सभामुख घर्तीले पुष्पगुच्छा स्वीकार गर्दै नेताकार्यकर्ताको उत्साह, जाँगर, विचार, प्रतिबद्धता देखेर आफू खुशी भएको प्रतिक्रिया दिएका थिए ।

धान रोपाइँमा पार्टीका केन्द्रीय सदस्य सम्झना सी, पार्टीका केन्द्रीय सदस्य एवम २ नं.निर्वाचन क्षेत्र इन्चार्ज पाटन जंगली सी, पार्टीका केन्द्रीय सदस्य एवम १ नं.निर्वाचन क्षेत्र इन्चार्ज विक्रम सी, पार्टीका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी, पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य विकास सी एवम पार्टी निकट जवस/मोर्चा केन्द्रीय एवम जिल्लाका नेताकार्यकर्ता तथा आम पार्टी कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

नेकपा दाङले यो वर्ष जिल्लालाई तीनवटा उत्पादन केन्द्र बनाएर करिव १३ बिघामा जमिनमा धान खेती गरिरहेको समेत जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।