३० आश्विन २०८१, बुधबार

एकीकृत कृषि तथा पशुपंक्षी सहकारीको तेस्रो साधारणसभा सम्पन्न, उत्पादनको विशेष समिक्षा

0

दाङ । एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
शनिबार संस्थाको तुलसीपुर -५ स्थित केन्द्रीय कार्यालयमा साधारणसभा सम्पन्न भएको हो ।

सहकारी संस्थाको तेस्रो साधारणसभाले संस्थाका सचिव रै बहादुर बस्नेतद्वारा प्रस्तुत प्रतिवेदन तथा वार्षिक कार्ययोजना पारित गरेको छ ।

साथै साधारणसभामा कोषाध्यक्ष रेखा रोका क्षेत्रीद्वारा प्रस्तुत प्रतिवेदन तथा वार्षिक कार्ययोजनासमेत पारित गरेको हो ।

साधारणसभामा आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका कामहरुको विवरण पेश गरिएको थियो भने आगामी वार्षिक योजना र नीति तथा कार्यक्रमहरुसमेत तय गरिएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष प्रदिप बहादुर वलीले स्वागत मन्तव्यसहित समग्र संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

संस्थाले आ.व.२०८०/०८१ को आम्दानी ३ करोड ६१ लाख ६३ हजार ३ सय ४२ रुपैयाँ र जम्मा खर्च ३ करोड ५९ लाख ५६ हजार १ सय २ रुपैयाँ बराबरको आयव्यय पेश गरेको छ । संस्थाको नगद मौज्दात २ लाख ७ हजार २ सय ३९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले नेपाल संस्कृत विश्वविद्यालयको करिव २५ बिघा जग्गा भाडामा लिएर माछापालन, फुल खेती, कागती खेती, केरा खेती लगाएतको उत्पादनका कामहरु अगाडि बढाएको जनाइएको छ ।

साथै संस्थाले आगामी कार्यक्रममा एग्रो टुरिजम पार्क सञ्चालन गर्ने, विभिन्न पशुपालनको क्षेत्रमा काम गर्ने लगाएतका कार्ययोजना तर्जुमा गरेको छ भने शेयर सदस्य संख्या अधिकतम वृद्धि गर्ने योजना बनाएको छ ।

संस्थाको तेस्रो साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीले सहकारीको उद्देश्य समाजवादी उत्पादनसहितको उत्पादन सहकारीमा विकास गर्न जोड दिए ।
उनले भने– ‘ सहकारीहरु रकम ब्याजमा लगाएर नाफा कमाउने भन्दापनि बृहत उत्पादनको नीतिमा चल्नुपर्छ । नाफा र ब्याज भनेको ठूलो रकमले सानो रकमलाई निल्दिने कुरा हो । अथवा पुजिपतीहरुले निम्न वर्गको पुँजीलाई नियन्त्रण गर्ने कुरा हो ब्याज र नाफाको कुरा । त्यसैले यो सहकारी उत्पादनको भण्डारण गर्ने सहकारी हुनुपर्छ । मुल्यवृद्धि हुने कुरा उत्पादनको वृद्धि हुने हो, ब्याज र नाफाले होइन ।’

‘सहकारी समाजवादी मोडेलको आधारमा अगाडि बढाएर दुनियाँलाई सन्देश दिन सक्नुपर्दछ । हामीले सहकारीको माध्यमबाट नेपाली जनतालाई समृद्धिको यात्रामा संगसंगै हिडाउन सक्नुपर्छ । यो अभियानबाट रोजगारीको सिर्जना गर्नुपर्दछ । काम गर्ने मजदुरलाई समाजवादी सिद्धान्त अनुरुप काम अनुसारको ज्यालाको व्यवस्था मिलाउनुपर्छ । सहकारीका विषयमा सबै शेयर सदस्यहरुलाई दक्ष बनाउने तालिमको व्यवस्था मिलाउन सके अझ बढी प्रभावकारी हुनुसक्दछ,’ उनले भने ।

प्रमुख अतिथि शितल सीले वर्तमान अवस्थामा सहकारी केही मान्छेका कारण बदनाम भएकाले यस्तो अवस्थामा सहकारी चलाउन अत्यन्त कष्टकर हुने बताए ।

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य सविन सीले एकीकृत कृषि सहकारी एकीकृत स्वामित्वका आधारमा चलेकाले यसले समग्र देशको समृद्धिको नेतृत्व गर्ने विश्वास व्यक्त गरेका थिए ।

नेता सविनले भने – ‘सामूहिक स्वामित्व र सामूहिक निर्णयमा आधारित सहकारी प्रणाली हो, जसको उद्देश्य आर्थिक समानता, सहकार्य, र सामूहिक कल्याणलाई प्रवर्द्धन गर्नु हो ।’

संस्थाको तेस्रो साधारणसभामा नेकपाका केन्द्रीय सल्लाहकार सुन्दर सी, नेकपा दाङका सेक्रेटरी तिलक सी, नेकपाका घोराही उपमहानगर कमिटीका इन्चार्ज विकास सी, संस्थाका लेखा सुपरिवेक्षण समितिका सदस्य निर्मला डिसी, संस्थाका शेयर सदस्य विजय मल्ल, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक हेमन्त प्रकाश वलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा अतिथिहरुले सदस्यको स्वामित्व, समान निर्णय शक्ति, सामुहिक लाभ, सहयोग र सामुहिकता, समाजमा योगदान लगाएत समाजवादी सहकारीहरू व्यक्तिगत फाइदा भन्दा सामूहिक हितलाई प्राथमिकता दिने, सदस्यहरूबीच आर्थिक समानता र न्याय स्थापित गर्ने उद्देश्यले सञ्चालन गर्ने कुरामा जोड दिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीको प्रमुख
सहकारी संस्थाका अध्यक्ष प्रदिप बहादुर वलीको अध्यक्षमा सम्पन्न तेस्रो साधारणसभाको सञ्चालन संस्थाका सचिव रै बहादुर बस्नेतले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।