८ असार २०८२, आईतवार

धान रोपाईंमा नेकपा गण्डकी : गोरखा–लमजुङको संयुक्त रोपाइँ सम्पन्न

0

पोखरा । शनिबार बिहानैदेखि नेकपाका नेता–कार्यकर्ता हातमा कोदालो लिएर खेततिर लम्किरहेका थिए । महिलाहरू बीउ काड्न व्यस्त देखिन्थे, केही ट्र्याक्टरहरू खेत माड्न दौडिरहेका थिए । एकातिर कम्युनिस्ट पार्टीको झण्डा फहराउँदै थियो भने रोपाईको गीतहरु घन्किरहेका थिए । यो दृश्य थियो गोरखाको पालुङटार नगरपालिका–३, तल्लो शेराको खेतको, जहाँ नेकपा गोरखा र लमजुङ जिल्लाको संयुक्त आयोजनामा बृहत् रोपाइँ अभियान सम्पन्न भयो ।

४५ रोपनी जग्गामा कञ्चन जातको धान रोपिएको यो कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज उमा भुजेल ‘शिलु’ विशेष उपस्थित थिइन् । शिलु सी आफै कस्सिएर बिउ काट्न र रोप्नमा व्यस्त देखिन्थिन् । त्यसैगरी नेकपाका केन्द्रिय सदस्यहरू विकिरण, कपिल, काजी, प्रसिद्ध र लमजुङ जिल्ला सेक्रेटरी रविन्द्र लगाएत स्थानिय नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
“म्याग्दीमा रोपाइँ सकेका छौँ, आज गोर्खा र लमजुङको हुँदैछ, अब गण्डकीका अन्य जिल्लाहरूमा तयारी भइरहेको छ,” नेकपाकी नेता शिलुले बताइन् । उनका अनुसार, नेकपाले यस वर्ष गण्डकीभर करिब २०० भन्दा धेरै रोपनी जग्गामा धान रोप्न लक्ष्य लिएको छ र त्यसका लागि असार १० गतेदेखि एक महिनासम्म सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई उत्पादनमा लाग्न विशेष आग्रह गरिएको उनले बताइन् ।
उत्पादनमा नेकपाका नेता कार्यकर्तासँगै आम मानिसहरु पनि उत्साहका साथ सहभागी थिए । उत्पादनसँगै पार्टी अगाडि बढाइरहेको नेकपाले समृद्धिको आधार कृषि र उत्पादन नै हो भन्ने कुरा नितिगत रुपमा सन्देश प्रवाह गरिरहेको छ । नेकपाले कृषि, सहकार्य र श्रम सन्देशसहित पार्टी, नेता कार्यकर्ता र आम जनतालाई समेत उत्पादनमा जोडिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।